काठमाडौ – नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ। आज बुधबारदेखि लागू हुनेगरी मुल्य समायोजन गरिएको निगमले जनाएको छ।
पछिल्लो मुल्य समायोजनअनुसार खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले मुल्य बढाईएको छ भने पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाईएको छ।
बढेको मुल्यअनुसार ग्यास प्रतिसिलिन्डर अब एक हजार ९१० रुपैयाँ पुगेको छ। यस अगाडी ग्यास प्रति सिलिन्डर एक हजार ८९५ रुपैयाँ तोकिएको थियो। त्यस्तै पेट्रोल अब पहिलो बर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम भएको छ। यस अगाडी पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम गरिएको थियो।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम भएको छ। यस अघि डिजेल र मट्टीतेलको पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम गरिएको थियो।
निगमकाअनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा प्रति लिटर क्रमश ४ रुपैयाँ ५३ र २ रुपैयाँ ३२ पैसाले तथा खाना पकाउने एलपी ग्याँस १५ रुपैयाँ ७८ पैसा बढाएर पठाएको छ।