Nexkhabar

प्रशिक्षक पाइलटका आँखा ककपिटमै नहुँदा दुर्घटना : प्रतिवेदन

काठमाडौँ — प्रशिक्षक पाइलटको आँखा ककपिटभित्रै भइदिएको भए ६८ यात्रु र ४ चालकदल बोकेको यती एयरलाइन्सको एटीआर विमान सम्भवतः एक वर्षअघि अवतरणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोंचमा दुर्घटनामा पर्ने थिएन । उक्त दुर्घटनाको छानबिन गर्न गठित दुर्घटना जाँच आयोगले ११ महिनापछि सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त सुझावहरू औंल्याइएको छ ।

काठमाडौंबाट पोखराका लागि भएको उडानको कमान्ड क्याप्टेन अञ्जु खतिवडाले गरेकी थिइन् भने प्रशिक्षक पाइलट कमल केसीले निर्देशन दिइरहेका थिए ।

‘सामान्यतः उडानमा दुई जना पाइलट हुन्छन् । तीमध्ये जहाज उडाइरहेका (पाइलट फ्लाइङ) पाइलटले बाहिर हेर्नुपर्ने र पाइलट मोनिटरिङमा रहेका पाइलटले ककपिटभित्र संकेत, उपकरणलगायतका चेकलिस्टअनुसार सघाउनुपर्ने हुन्छ,’ छानबिन आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने, ‘त्यस दिन उडानमा रहेकी क्याप्टेन खतिवडाका आँखा भित्र–बाहिर अनि मोनिटर गरिरहेका प्रशिक्षक पाइलट केसीका आँखा बाहिरै रहेको अनुसन्धानबाट देखिन्छ । उडानको सिद्धान्तअनुसार, प्रशिक्षक पाइलटले भित्रै हेर्नुपर्छ । यदि उनका आँखा भित्रै रहेको भए दुर्घटना टर्न सक्ने थियो ।’

आयोगले पुस १२ मा बुझाएको प्रतिवेदनले अवतरणका क्रममा उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर (ब्लेड) प्रशिक्षक पाइलटद्वारा लिभर तानेर फेदर (ब्लेड निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा सिधा रहनु) मा हुनुलाई दुर्घटनाको प्रमुख कारण भनेको छ । गत माघ १ गते भएको उक्त दुर्घटनाको २२ औं दिनपछि त्यसै बेला सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनले सोही कारण औंल्याएको थियो । एटीआर जहाजको इन्जिनमा ६/६ वटा प्रोपेलर हुन्छन् । जहाजलाई आकाशमा उडाउन प्रोपेलरको मद्दतबिना सम्भव हुँदैन । प्रोपेलरलाई पाइलटले ककपिटमा लिभर (लामो गियर आकार) को सहायताले आवश्यकताअनुसार छड्के बनाउँछन् । आयोगको प्रतिवेदनले पखेटामा रहेका फ्ल्यापलाई तान्न लिभर चलाउनुपर्नेमा इन्जिनमा रहेका प्रोपेलरलाई तान्ने कन्डिसन लिभर तानिनु नै दुर्घटनाको सम्भावित प्रमुख कारण रहेको जनाएको छ ।

‘दुर्घटनाको सम्भावित कारणमा दुवै इन्जिनका ब्लेडलाई अञ्जानवश कन्डिसन लिभर तानेर फेदरको अवस्थामा पुर्‍याउँदा उडिरहेको जहाज थ्रस्ट (अगाडि बढ्ने बल) शून्यको अवस्थामा पुग्यो । त्यसपछि गति कमी हुँदै केही सेकेन्डमै जमिनमा बजारियो,’ प्रतिवेदनमा भनिएको छ । ‘प्रतिवेदन हेर्दा दुवै पाइलटका हात ककपिटमा तर आँखा बाहिर बढी देखिन्छ,’ एटीआरका एक वरिष्ठ प्रशिक्षक पाइलटले भने, ‘उडानमा एउटाले बाहिर हेर्ने हो र अर्कोले ककपिटभित्रको अवस्था हेर्नुपर्ने हो । तर यो उडानमा दुवैका आँखा बाहिर भए, भित्र के भइरहेको छ भन्ने भेउ नै पाएनन् । यदि एउटाका आँखा बेलैमा लिभरतर्फ गइदिएको भए केही सेकेन्डमै त्रुटि सच्याउन सकिन्थ्यो । अर्थात् दुर्घटना टर्न सक्थ्यो ।’

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वको जाँच आयोगले दुर्घटना भएको झन्डै साढे ११ महिनापछि पुस १२ मा पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाएको हो । आयोगले यती एयरलाइन्सले त्यसबेला नयाँ विमानस्थलका लागि आफ्ना चालकदललाई पर्याप्त तालिम र कक्षा नदिएको, नयाँ विमानस्थलमा उडान गर्न आवश्यक पर्ने उडान सम्बन्धित निर्देशिकाहरू बनाइनसकेको, नयाँ भूगोल र परिवेशबारे चालकदलमा उच्च मानसिक चाप देखिएको, पोखराको रनवे १२ बिन्दुबारे परीक्षण उडानबाट प्राविधिक रूपमा मूल्यांकन तथा जाँच गराइनसकेको जस्ता कमजोरीहरू पनि औंल्याएको छ ।

आयोगले यतीको सेफ्टी विभागलाई बेला–बेला अनिवार्य जाँच गर्नुपर्ने, चेकलिस्टअनुसार उडानका क्रममा चालकदलले गर्ने ककपिटभित्रका रेकर्डमा हुने संवाद जाँच्नुपर्ने, ककपिट भित्रको अनुशासन कडाइका साथ पालना गराउनसमेत सुझाव दिएको छ । आयोगले यतीलाई चालकदलको तालिममा कमी नगराउन भन्दै पर्याप्त प्राविधिक ग्राउन्ड कक्षा दिन सुझावसमेत दिएको छ । त्यसैगरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणलाई नयाँ विमानस्थल सञ्चालनमा ल्याउनुअघि व्यावसायिक उडानका लागि आवश्यक पर्ने उडान तथा अवतरणका लागि आवश्यक पर्ने सबैखाले चार्ट, रुट तथा उडानसँग सम्बन्धित मार्ग–नक्साहरू तयार गरिसक्नुपर्ने पनि सुझाव दिएको छ । त्यस्तै सम्भावित जोखिमहरूको गहन विश्लेषण गर्न पनि प्राधिकरणलाई भनेको छ ।

आयोगले दुर्घटना जाँचका क्रममा अमेरिकी, क्यानेडियन, फ्रेन्च र सिंगापुरका अनुसन्धानकर्ताको पनि मद्दत लिएको जनाउँदै प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), फ्रान्सको ब्युरो अफ इन्क्वेयरी एन्ड एनलाइसिस फर सिभिल एसिएसन सेफ्टी (बीईए), नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड अमेरिका र ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड क्यानडालाई पनि पठाइएको बताएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top