Nexkhabar

न्यूरोडका व्यापारीहरु सटर बन्द गरेर सडकमा, भन्छन्- ‘मन्दीमाथि नुनचुक’

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गराएपछि व्यवसायीहरू विरोधमा उत्रिएका छन् । उक्त क्षेत्रमा मंगलबारदेखि पार्किङ निषेध गरेपछि व्यापारीहरु विरोधस्वरुप सडकमा आएका हुन् ।

व्यवसाय गर्ने वातावरण नभएको र ग्राहक पनि नआउने भएकाले बाध्यतावश सटर बन्द गरेर सडकमा आउनु परेको उनीहरु बताउँछन् । अहिले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल लगायतका क्षेत्रका व्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । उनीहरुले वडा कार्यालय पुगेर यो निर्णय सच्याउन आग्रह गरेका छन् ।

विगत १० वर्षदेखि न्युरोड क्षेत्रमा जुत्ताको व्यवसाय गर्दै आएका कृष्ण लामिछानेले महानगरको निर्णयले मन्दीमा मार थपिएको टिप्पणी गरे । मन्दीका कारण व्यापार नभएको अवस्थामा महानगरले उल्टै ग्राहक भडकाउने काम गरेको उनको भनाइ छ ।

अर्का स्थानीय जनार्जन पौडेलले पनि महानगरको निर्णय व्यवहारिक नभएको बताए । पौडेलले काठमाडौं टावरमा सवारीसाधन पार्किङ गरेर न्युरोड जाने कुरा अलि नमिल्दो भएको बताए । ‘पुरानो बसपार्कमा सवारीसाधन राखेर न्युरोड आउने, अनि फेरि सामान लिएर त्यहाँसम्म जानुपर्ने कसरी व्यवहारिक भयो ?’ उनले भने । उनले न्युरोड क्षेत्रमै पार्किङ्को ब्यबस्था हुनुपर्ने बताए ।

महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएका हो । पार्किङ हटाउन महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो । कार्यालय समयसम्म त्यस क्षेत्रका सडकमा पार्किङ निषेध गरी महानगरले ‘नो पार्किङ’ बोर्ड राखिसकेको छ ।
महानगरले यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ । न्युरोड क्षेत्र, पुरानो बसपार्कमा रहेको काठमाडौँ टावरबाट करिव दुई किमी टाढा पर्छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top