काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटबाट नेपाल बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७।२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यूएईका लागि अलिशान शराफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमारनले २८ रनको योगदान गरे । कप्तान मोहम्मद वसीमले ११ रन बनाए । साथै, सैयद हैदरले १४ रन जोडे । नेपालका लागि गुल्शन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एकरएक विकेट लिए ।
नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ४ चौका र दुई छक्काको मद्धतमा ५० रन जोडे । गुल्शन झाले २०, करण केसीले १७ रन बनाए ।
ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेखले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।
यूएईका लागि जुनैद सिद्दिकी, अली नसीर र बासिल हमिदले २र२ विकेट लिए । यससँगै नेपालले एसिया कप खेल्ने मौका गुमाएको छ ।