Nexkhabar

नबिल बैंकले दियो आश्रमलाई २ थान उद्धार वाहन

काठमाडौं- नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ।

मंगलबार काठमाडौंको बोहोराटारमा रहेको आश्रमलाई दुईवटा वाहनहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका थिए।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो। साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए।

बैंकका सीईओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यहरूमा तयार रहेको बताए। उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन्। उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

२०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७ हजार बढीलाई आश्रय दिएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top