काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
सो नगरपालिका वडा नं. ५ स्थित आधारभूत विद्यालय लक्ष्मिनिया जटहरामा २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको उनीहरूविरुद्ध आरोप रहेको छ । सोबारे आयोगले अनुसन्धान गर्दा तत्कालीन इन्जिनियर सत्यपाल सौरभले तयार गरेको ‘वर्क कम्प्लिेट रिपोर्ट’ मा कार्य फिल्डमा गरिएको इष्टिमेटको दररेटअनुसार बढी कार्य भएको देखाएका थिए ।
सोबाट जम्मा ८६ हजार ६४७ रुपैयाँ बढी भुक्तानी गर्न प्रतिवेदन/विल तयार गरी पेश गरेको पाइएको छ । उनलाई सोही रकम बराबरको बिगो कायम गरी जरिवाना तथा कैदको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले प्राविधिकबाट अन्तिम भुक्तानीका लागि बनाइएको कार्य सम्पन्न प्रतिवेदन अनुसार नगरपालिकाबाट प्राप्त रकमबाट सम्झौता बमोजिम १४ लाख ३५ हजार ९ सय रुपैयाँ गलत नापजाँच गरी थप गरिएको पाइएको छ । यसबाट बढी रकम ८६ हजार ६४७ घटाइ हुन आउने रकम १३ लाख ३९ हजार २५२ रुपैयाँ मात्र खर्च हुनुपर्नेमा विल भरपाई र लेखापरिक्षण प्रतिवेदनसमेतका आधारमा १६ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाई हुँदै नभएको कामको झुटा बिल पेश उनले गरेको पाइएको छ ।
झुटा बिलबाट उनले ३ लाख ३ हजार ७९७ रुपैयाँ बढी खर्च लेखेकोले अन्तरविरुद्ध सोही रकम बराबरको बिगो र कैद माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।