काठमाडौं- उत्तरी मकवानपुरमा रहेको थाहा नगरपालिकामा अथाह विकृति मौलाएको पाइएको छ । महालेखा परिक्षकको पछिल्लो प्रतिवेदनले नगरपालिकाभित्र थुप्रै समस्या रहेको तथ्य उजागर गरेको हो ।
नगरपालिकाले बोलपत्र आव्हान गरि प्रतिस्पर्धाबाट गर्नुपर्ने कामहरु उपभोक्ता समितिबाट गराउने र आधा काम नसकिँदै पूरा रकम भुक्तानी दिने गरेको भेटिएको छ । यस्तै नगरपालिकाले नियम विपरित कर्मचारी भर्ती गर्ने, प्रतिवेदनबिना नै भ्रमण भत्ता बाड्ने र कार्यालय संचालनमा अध्याधिक रकम खर्चिने गरेको तथ्या बाहिरिएको हो ।
नगरपालिकाले मन्त्रालयको निर्देशन विपरित अनुदानको रकमबाट वडाध्यक्षहरुलाई मोटरसाइकल किनि दिएको खुलेको छ । स्थानीय सरकारी संचालन ऐन २०७४ अनुसार मन्त्रालयले आप्नो आन्तरिक आम्दानी मात्रै सवारीसाधन खरिद गर्न भनेको छ । तर नगरपालिकाले वडास्तरीय साना मर्मत सुधार कार्यक्रममा वडालाई बजेट विनियोज गरेकोमा वागमती प्रदेश समानीकरण अनुदानबाट वडा. ७, ८ र १२ का वडाध्यक्षहरुले प्रयोग गर्ने गरी मोटरसाइकल खरिद गरेको छ । नगरपालिकाले होण्डाको एक्सआर १९० सीसीको बाइकका लागि २० लाख ८१ जर ७ सय रुपैंया भुक्तानी दिएको छ ।
अनुभवी निर्माण व्यवसायीबाट गराउनुपर्ने पाल्चोक पुल निर्माणको काम उपभोक्ता समितिबाट गराइ ३३ लाख २ हजार ५९ रुपैंया भुक्तानी दिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ अनुसार मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्यहरु मात्रै उपभोक्ता समिति मार्फत गर्न पाइन्छ ।
यस्तै यस्तै नगरपालिकाले निर्माण कार्यमा प्रयोग हुने सामाग्रीहरुको गुणस्तर समेत परिक्षण नगर्ने गरेको महालेखाले जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९ ८० मा तय गरेको ७१८ वटा कार्यक्रम तथा योजना मध्ये ११३ वटा योजनाका लागि विनियोजित ६ करोड ९१ लाख ४० हजार रुपैंयाको प्रगति विवरण शून्य भएको देखिन्छ ।
सार्वजनिक खरिद नियमावली अनुसार १० करोड भन्दा बढीको खरिद कार्य गर्दा गुरुयोजना तयार गर्नुपर्ने र १० लाख भन्दा बढीको खरिद गर्दा वार्षिक खरिद योजना बनाउनुपर्ने व्यवस्था भएपनि नगरपालिकाले ४७ करोड ४८ लाख ५४ हजार ७२५ रुपैंयाको वार्षिक खरिद कार्य गरेको देखिन्छ । सार्वजनिक खरिद नियमावली समेत नबनाइ यसरी जथाभावि खरिद कार्य गर्नुले अनियमितताको आशंका गरिएको छ ।
नगरपालिकाले खर्च गर्ने क्रममा मात्रै होइन आम्दानी गर्ने विषयमा पनि हेलचेक्राइ गर्ने गरेको पाइएको छ । नगरपालिकाले पालिकाभित्र रहेका करदाताहरुको अभिलेख समे राख्ने गरेको छैन । करदाताले बुझाउन आए मात्रै कर बुझ्ने परिपाती गलत भएको भन्दै महालेखाले करदाताहरुको अभिलेख अद्यावधिक गर्न भनेको छ ।
असारे विकासमै मस्त, आर्थिक विकास अस्तव्यस्त
नगरपालिकामा असारे विकास मौलाएको तथ्यांकले खाएको छ । वार्षिक ४७ करोड ५२ लाख ६७ हजार २२५ रुपैंया निकासा भएकोमा पहिलो त्रैमासमा १६ प्रतिशत, दोस्रो त्रैमासमा ८ प्रतिशत, तेस्रो त्रैमासमा २६ प्रतिशत र चौथों त्रैमासिकमा ५० प्रतिशत खर्च गरेको देखिन्छ । ‘चौथों त्रैमासिकमा आएर खर्चको चाप बढेको देखिएकाले सन्तुलित खर्च व्यवस्थापन भएको देखिएन ।’ महालेखाले भनेको छ । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तर खस्किने महालेखाले जनाएको छ ।
नगरपालिकाले क्षेत्रगतरुपमा समानुपातिक बजेट विनियोजन र खर्च गर्नुपर्नेमा त्यो भएको देखिँदैन । कार्यालय कार्यालय संचालन तथा प्रशासनिकमा ५० प्रतिशत खर्च गर्दा आर्थिक विकासमा ३ प्रतिशत र पूर्वाधार विकासमा २० प्रतिशत मात्रै खर्चेको देखिन्छ ।
काम सम्पन्न भएपछि मात्रै बीमा
सुन्दा अनौठो लाग्न सक्छ तर थाहा नगरपालिकाले यस्तै अनौठो काम गरेको महालेखाले फेला पारेको छ । खानिगाउँ कुटीप्वाकल सडकको काम २०७९ चैत ५ गते सम्पन्न भयो तर व्यक्तिगत दुर्घटना उपकरण तथा कामको विमा २०८० बैशाख ७ गते मात्रै ग-यो । यस्तै जगडाडा सडक स्तरोन्नती काम २०७९ चैत १२ गते नै सम्पन्न भयो तर चैत्र २३ गते मात्रै विमा ग-यो ।
भत्तामा मनोमानी
नगरपालिकाले प्रशिक्षक तथा अनुगमन भत्ता नियमविपरित वितरण गरेको पाइएको छ । प्रदेश सार्वजनिक खर्चको मापदण्ड २०७८ को अनुसार एक हजार ३ सय भन्दा बढी भत्ता वितरण गर्न नपाइने भएपनि नगरपालिकाले प्रशिक्षक अनिल सापकोटालाई दुइ हजार ५ सयका दरले भत्ता दिएको फेला परेको छ । बढी भुक्तान भएको एक हजार २ सयका दरले ९ हजार १८० रुपैंया असुल उपर गर्न महालेखाले निर्देशन दिएको छ ।
यस्तै नगरपालिकाले कर्मचारीहरु डा. शक्ति चौरासिया, डा. चन्द्रभुषण चौधरी, राघबेन्द्र मिश्रलाई ९६ हजार रुपैंया महंगी भत्ता वितरण गरेको छ । जब कि करारमा कार्यरत कर्मचारीलाई महंगी भत्ता दिने कुनै कानूनी व्यवस्था छैन ।
काम नसकिँदै आवश्यक भन्दा बढी भुक्तानी
शिखरकोट बजार व्यवस्थापन समितिले २८ लाख ९७ हजार ३३९ रुपैंयामा काम सम्पन्न ग-यो । नगरपालिकाले २५ लाख १९ हजार ४२६ रुपैंया भुक्तानी दिनुपर्ने थियो, तर २५ लाख ८८ हजार २५४ रुपैंया भुक्तानी दिएको पाइयो । यो भनेको आवश्यक भन्दा ६८ हजार ८२७ रुपैंया बढी हो । यस्तै खानिगाउँ कुटिप्वाकल सडक उपभोक्ता समितिलाई २ हजार ८८१ र मालागीरी मेलखोला सडक उपभोक्ता समितिलाई ११ हजार १२१ रुपैंया बढी भुक्तानी दिएको पाइएको छ ।
शिखरकोट बजार व्यवस्थापन समितिले ५५ लाख ७८ हजा ३९३ मा लिएको ठेक्कामा जम्मा ४९ प्रतिशत काम भएको देखिन्छ तर अन्तिम बिल भुक्तान भइसकेको छ । यस्तै दामन पिकनिक स्पट, इन्द्रायणी खेलमैदान निर्माण उपभोक्ता समिति, कटुवाल डाँडा सडक स्ल्याव ढलानलगायतको उपभोक्ता समितिलाई पनि काम नसकिँदै भुक्तानी गरेको महालेखाले जनाएको छ ।
राजस्व संकलनमा वेवास्ता
नगरपालिकाले राजस्व व्यवस्थापनमा प्रयोग गरिने नगदी रसिद खातालाई व्यवस्थित बनाइएको पाइएको छ । पालिकाले वितरण गरेको ठेली न. ५२, ७५, ७७, ९०, ९१, ९६, १७ र १६४ पालिकामा फिर्ता नभएको महालेखाले जनाएको छ । यस्तै पालिकाले मुल्य अभिवृदि कर संकलनमा समेत राम्ररी ध्यान नदिएको पाइएको छ ।