काठमाडौं- मकवानपुरको थाहा नगरपालिकाले विनियोजन गरेको बजेटमाथि जनप्रतिनिधिहरुले नै विरोध जनाएका छन् ।
थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङ्ले आर्थिक वर्ष २०८१/०८२ को वडाको सिलिङ्ग बजेट एकल निर्णयद्वारा विनियोजन गरेको भन्दै वडा सदस्यहरुले नै विरोध गरेका हुन् ।
अध्यक्ष थिङले वआपूmहरुलाई समेत थाहा नदिई सुटुक्क बजेट बिनियोजन गरि असार ७ गतेको परिषद्मा बजेट पेश गरेको आरोप वडा सदस्यहरुले लगाएका छन् । आफुहरुले पटकपटक टोल भेला गराइ बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदा पनि बेवास्ता गरि एकल निर्णयले अध्यक्ष थिङले पुर्वाग्राही ढङ्गले बजेट बाडफाड गरि परिषदमा पेश गरेको वडा सदस्य हरिमाया बुलुनले बताइन् ।
सदस्य बुलुनले अध्यक्ष थिङ्गको मनोमानिको निर्णय तुरुन्तै नसच्याए कानुन बमोजिम जाने बताईन् । उनले वडा सदस्यहरुसँग छलफल गरेर विधि र प्रक्रिया अनुसार बजेट बाँडफाँड हुनुपनें बताइन् ।
स्थानीय तह संचालन ऐन २०७४ को दफा १२ को २ को उपदफा १ को क ९१० बमोजिम सहभागितामुलक योजना तर्जुमा वस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरि वस्ती तथा टोलस्तरिय योजनाको माग संकलन गरि प्राथमिकिकरणको आधारमा योजना तर्जुमा गर्ने भनी उल्लेख छ ।
वडाध्यक्ष थिङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने अन्य ४ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
थाहा नगरपालिकाले शुक्रबार आयोजित १६ औं नगरसभामा उपमेयर भरत गोपालीले आव ०८१/८२ का लागि ९१ करोड ९१ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमध्ये चालु खर्चमा ६२ प्रतिशत र पुँजीगत ३८ प्रतिशत विनियोजन गरिएको छ ।
नगरपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा करिब ८ करोड रुपैयाँ खुम्चिएको छ ।