काठमाडौं – सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो ।
‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारीको गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ ।’
गत ६ महिनामा ७२ वटा जिल्लाबाट १२४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेंगु रोगको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु र वान्ता हुनु पर्दछन् ।
एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तश्राव, धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ ।