काठमाडौंको वायु प्रदूषण विश्वमै अस्वस्थकर देखिएको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा परेको हो । अहिले काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई १७६ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।
पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

काठमाडौंमा पनि सबैभन्दा बढी रत्नपार्क क्षेत्रमा वायु प्रदुषण देखिएको छ । त्यहाँको प्रदुषण १६९ मापन गरिएको छ । यस्तै शंखपार्क, भैंसेपाटी, खुमलतार, कीर्तिपुरलगायतका ठाउँहरुमा पनि अत्याधिक वायु प्रदुषण देखिएको छ ।