Nexkhabar

आज नयाँ वर्ष २०८१, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – आजदेखि विक्रम संवतको नयाँ वर्ष (२०८१) सुरु भएको छ।

हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ। शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ। सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको धर्मशास्त्रविदहरु बताउँछन्। विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्‌को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्‌मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्।

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top