काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित भएको छ । योसँगै नेपालले घरेलु मैदानमा भएको शृंखलाको चारमध्ये तीन खेलमा पराजयको नराम्रो नतिजालाई आत्मसात गरेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । नेदरल्याण्डको जितमा विक्रमजीत सिंहले अविजित ५८ रन बनाए । एकदिवसीय क्रिकेटमा आफ्नो छैटौं अर्धशतक प्रहार गर्ने सिंहले ९२ बलमा सात चौका प्रहार गरे।
७१–२ को स्थितिबाट विक्रमजीतले तेस्रो विकेटका लागि साइब्रान्ड एङ्गलब्रेटसँग १०२ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए । सिंहसँग अविजित रहेका एन्जेलब्रेटले ७५ बलमा तीन चौका प्रहार गर्दै ४६ रन बनाए ।