काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन अघि बढाएको छ।
गत वर्षको जेठमा बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन दुईजना सल्लाहकारसहित फ्रान्स गएका थिए। सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो।
त्यतिखेर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल भ्रमण टोलीमा सहभागी थिए। त्यस्तै महानगर प्रमुख बालेन सल्लाहकार सुनील लम्सालका साथमा अर्कोपल्ट ब्राजिल भ्रमणमा गएका थिए। यस भ्रमणको खर्च पनि अनियमितरूपमा गरिएको महालेखाले उल्लेख गरेको छ।
महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ। त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको छ।
महालेखा प्रतिवेदनअनुसार, स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं। ४ मा महानगरपालिकाको प्रमुखको विदेश भ्रमणका लागि मनोनयन गर्ने अधिकार नेपाल सरकारको हुने उल्लेख छ। निर्देशिकाको बुँदा नं। ८ ९१० मा दफा ५ बमोजिम सम्बन्धित स्थानीय तहको सिफारिसमा मनोनयन भएको पदाधिकारीले सम्बन्धित स्थानीय तहबाट भ्रमण खर्च पाउने र यसबमोजिम बाहेक विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण वापतको खर्च कुनै पनि सरकारी कोषबाट नव्यहोरिने उल्लेख छ।
त्यस्तै स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं. ४ मा कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणीबाहेक अन्य कर्मचारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ।
तर, काठमाडौँ महानगरपालिकाका पदाधिकारी तथा कर्मचारी वैदेशिक भ्रमण गरी ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च लेखेकोमा निर्देशिकामा तोकिए बमोजिम मनोनयन बेगर वैदेशिक भ्रमण गरेको देखिएकोले भुक्तानी भएको खर्च रकम नियमसम्मत नदेखिएको नभएको प्रतिवेदनमा उल्लेख छ।