Nexkhabar

हेटौंडा र थाहा नगरपालिकामा सबैभन्दा बढी बेरुजु

काठमाडौं- मकवानपुर जिल्लामै सबैभन्दा बढी बेरुजू भएको पालिका हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण प्रतिवेदन अनुसार मकवानपुरका दश मध्ये हेटौंडा उपमहानगर र थाहा नगरपालिकाको बेरुजू धेरै पाइएको हो ।

हेटौंडा उप महानगरपालिकामा गत वर्षसम्म ४० करोड ५९ लाख ३ हजार बेरुजू रहेकोमा अहिले ५१ करोड २२ लाख ४३ हजार रुपैंया पुगेको छ । उपमहानगरको आर्थिक वर्ष २०७९/८० को बेरुजू १० करोड ५९ लाख ३ हजार रुपैंया रहेको छ ।

यस्तै धेरै बेरुजू देखिएको अर्काे पालिका थाहा नगरपालिका हो । थाहाको बेरुजू १७ करोड ५१ लाख ७१ हजार रुपैंया पुगेको छ । गत वर्षसम्म १६ करोड १२ लाख ८८ हजार बेरुजू रहेकोमा यसवर्ष एक करोड ३८ लाख ८३ हजार रुपैंया थपिएको देखिन्छ ।

गत वर्ष थाहा नगरपालिका वडा नं. ६ को कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बेरुजूको विषयमा जवाफ दिँदै नगर प्रमुख विष्णु विष्टले कागजी प्रक्रिया नमिलेकाले बेरुजू बढी देखिएको बताएका थिए । बेरुजू पाँच करोड नै कायम रहेको जिकिर गर्दै उनले भनेका थिए, ‘बाँकी ६ करोड पूर्व बजेटमा फिर्ता पठाइसकेको छ, यसलाई ठूलो विषय बनाउनु पर्दैन ।’ तर महालेखाको पछिल्लो प्रतिवेदनले प्रमुख विष्टको यो भनाइ गलतसावित गरि दिएको छ ।

यस्तै राक्सिराङ गाउँपालिकाको बेरुजू ९ करोड ८ लाख ६० हजार पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको बेरुजू २ करोड ४६ हजार बढेको हो । त्यस्तै मनहरि गाउँपालिकाको बेरुजू २ करोड १७ लाख ६९ हजार रहेको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिकामा एक करोड २२ लाख ३८ हजार बेरुजू थपिएको छ । यस गाउँपालिकामा ११ करोड ९८ लाख ९७ हजार बेरुजु पुगेको छ ।

मकवानपुरको कैलाश गाउँपालिकाको बेरुजू १४ करोड २४ लाख ७६ हजार पुगेको छ । यस पालिकामा पछिल्लो आर्थिक वर्षमा एक करोड ७७ लाख ७९ हजार बेरुजू थपिएको महालेखाले जनाएको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिकामा यो वर्ष सबैभन्दा कम बेरुजू देखिएको छ । यस गाउँपालिकाको हालसम्मको बेरुजू ८ करोड २६ हजार पुगेको छ ।

उता भिमफेदी गाउँपालिकाको बेरुजू ९ करोड ४ लाख १६ हजार पुगेको छ । यस गाउँपालिकामा यस वर्ष एक हजार ४९ लाख ७८ हजार बेरुजू थपिएको हो ।

यस्तै बकैया गाउँपालिकामा यस वर्ष ४ करोड ९० लाख ५२ बेरुजू थपिएको छ । यो सहित गाउँपालिकाको बेरुजू १७ करोड २१ लाख २५ हजार पुगेको छ ।

यस्तै बागमती गाउँपालिकामा ३ करोड २२ लाख १ हजार बेरुजू थपिएको छ । बकैया गाउँपालिकाको हालसम्मको बेरुजू १ करोड ५८ लाख २२ हजार पुगेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top