Nexkhabar

सोहम शाहको नयाँ फिल्म ‘क्रेजी’ यस शुक्रबार प्रदर्शनमा आउँदै

काठमाडौँ — बलिउड अभिनेता सोहम शाहको नयाँ थ्रिलर ड्रामा फिल्म ‘क्रेजी’ यस शुक्रबार, २८ फेब्रुअरीबाट प्रदर्शनमा आउने भएको छ। सोहम शाह फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मलाई गिरिश कोहलीले निर्देशन गरेका छन्। कोहलीले यसअघि श्रीदेवी अभिनित ‘मम’, अक्षय कुमारको ‘केशरी’, र राजकुमार राव र सान्या मल्होत्राको ‘हिट : द फर्स्ट केस’ जस्ता चर्चित फिल्महरूको पटकथा लेखिसकेका छन्।

सोहम शाहले ‘क्रेजी’मा डाक्टर अभिमन्यु सूदको भूमिका निर्वाह गरेका छन्। फिल्मको कथानक अनुसार, एक दिन उनलाई एउटा रहस्यमयी फोन आउँछ, र त्यसपछि उनको सामान्य जीवनमा असामान्य घटनाहरू दोहोरिन थाल्छन्। यसले उनको जीवनलाई कसरी प्रभावित गर्छ भन्ने नै फिल्मको केन्द्र बिन्दु हो।

सोहम शाहले सन् २००९ मा ‘बाबर’बाट बलिउडमा डेब्यू गरेका हुन्। उनलाई सन् २०१२ को ‘सीप अफ थिसस’ले नेसनल अवार्ड दिलाएको थियो। उनी माधुरी दिक्षित र जुही चावलासँग ‘गुलाब ग्याङ’, इरफान खानसँग ‘तलवार’, कंगना रनावतसँग ‘सिम्रन’, अभिषेक बच्चनसँग ‘द बिग बुल’, हुमा कुरेशीसँग ‘महारानी २’, र सोनाक्षी सिन्हासँग ‘दहाड’ जस्ता चर्चित फिल्महरूमा देखिसकेका छन्। तर, उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने फिल्म भने सन् २०१८ को ‘तुम्बाड’ हो। यस फिल्मले बक्स अफिसमा मात्रै नभई समीक्षकहरूबाट पनि प्रशंसा बटुल्यो र अन्तर्राष्ट्रिय पत्रिका ‘फोर्ब्स’ले पनि यसको सफलतालाई उल्लेख गरेको थियो।

‘क्रेजी’ फिल्मले सोहम शाहको अभिनय क्षमतालाई फेरि एक पटक प्रमाणित गर्ने अपेक्षा गरिएको छ। फिल्मको निर्देशक गिरिश कोहलीले अघिल्लो फिल्महरूमा देखाएजस्तै यसमा पनि रहस्य र थ्रिलरको मिश्रणले दर्शकहरूलाई बाँध्ने विश्वास गरिएको छ।

फिल्म २८ फेब्रुअरी, शुक्रबारबाट नेपाल र भारतका प्रमुख सिनेमाघरहरूमा प्रदर्शनमा आउनेछ। सोहम शाहका प्रशंसकहरूले यस फिल्मको प्रदर्शनको बाटोमा नजर गाँडिरहेका छन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top