पालुङ – मकवानपुरको थाहा नगरपालिकाले ‘थाहा’ दिन हदैसम्म कन्जुस्याँइ गर्ने गरेको तथ्य बाहिरिएको छ । पौष मसान्तभित्र सार्वजनिक गर्नुपर्ने एउटा तथ्यांक अहिलेसम्म पनि सार्वजनिक नगरेपछि मन्त्रालयले नै ताकेता गर्नु परेको हो ।
पौष मसान्तभित्र सार्वजनिक गर्नुपर्ने संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा अझैसम्म पनि सार्वजनिक नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको हो । मन्त्रालयले अब माघ मसान्तभित्र नतिजा सार्वजनिक गर्न पत्राचार गरेको छ । ‘समयभित्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा सार्वजनिक गरी सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिनु हुन अनुरोध छ ।’ मन्त्रालयले पत्रमा भनेको छ ।
हेटौंडा उपमहानगरपालिकासहित छिमेकी गाउँपालिकाहरुले समेत धमाधम नतिजा सार्वजनिक गरिसक्दा पनि थाहा नगरपालिकाले भने अझै नतिजा सार्वजनिक गर्न सकेको छैन । यसले थाहानगरको कार्यशैली र सुशासन कति कमजोर रहेछ भन्ने प्रष्ट भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि सबै स्थानीय तहलाई माघको पहिलो साता नतिजा सार्वजनिक गर्न पत्राचार गरेको थियो । मन्त्रालयले गत २९ गते पौष मसान्तभित्र स्थानीय कार्यपालिकाबाट नतिजा स्वीकृत गरी माघको पहिलो साता सूचनापाटी र वेबसाइटमार्फत सार्वजनिक गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार थाहा नगरपालिकाको संस्थागत स्वमूल्यांकन नतिजा पृष्ठपोषण सम्पन्न भएको छ । पृष्ठपोषण, अनुमोदनपश्चात कार्यपालिकाले स्वीकृत गरेपछि मात्रै नतिजा सार्वजनिक गरिन्छ ।
थाहा नगरपालिकाले गत वर्षपनि ढिलो गरी नतिजा सार्वजनिक गरेको थियो । पौष मसान्तभित्र स्वीकृत हुनुपर्ने यो नतिजा माघ २५ गते मात्रै कार्यपालिकाको बैठकबाट स्वीकृत भएको थियो । यसरी स्वीकृत नतिजा मन्त्रालयबाट २६ गते सार्वजनिक भएपनि नगरपालिकाको वेबसाइटमा भने फागुण १९ गते मात्रै सार्वजनिक गरिएको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार नगर कार्यपालिकाले अनुमोदन गरेको ७ दिनभित्र नतिजा कार्यालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ । तर थाहा नगरपालिकाले झण्डै एक महिनापछि मात्रै यो सूचना वेबसाइटमा अप्डेट गरेको थियो । गत वर्षको नतिजामा थाहा नगरपालिकाले ८६.२५ अंक प्राप्त गरेको थियो । नेक्स खबरलाई प्राप्त जानकारी अनुसार थाहा नगरपालिकाले यस पटक गत वर्षभन्दा कम अंक पाउने छ ।
हालसम्म मकवानपुरका १० मध्ये ६ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म हेटौंडा उपमहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकाले नतिजा सार्वजनिक गरेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी ८८ दशमलव ५ अंक प्राप्त गरेको छ । यस्तै भिमफेदी गाउँपालिकाले ६४ दशमलव ७५, इन्द्रसरोवर गाउँपालिकाले ६१ दशमलव ७५ र कैलाश गाउँपालिकाले ६१ द्यशमलव ५ अंक पाएको छ । यस्तै बागमती गाउँपालिकाले ५७ दशमलव ७५ र राक्सिराङ गाउँपालिकाले ६८ दशमलव ५ अंक पाएको छ ।
स्थानीय तहको कार्यपक्रिया तथा उपलब्धिहरुको विषयमा लेखाजोखा गरी समीक्षा गर्न मन्त्रालयले पालिकाहरुको मूल्यांकन गर्दै आएको छ । यस्तो नतिजालाई स्थानीय तह कार्यसम्पादन सूचकका रुपमा लिई वित्तीय हस्तान्तरण गर्दा समेत आधार मान्न सकिने कार्यविधिमा उल्लेख छ ।