काठमाडौं – सुन्दा अनौठो लाग्न सक्छ, तर यो ध्रवसत्य हो । दाइजोमा सुनको सिक्री नपाउँदा एक बेहुलाले विवाह मण्डपमा विवाह अस्वीकार गरेका छन् ।
अहिले उनीसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।
नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।
बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।