काठमाडौं – सिटिजन्स बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गतेको लागि साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रस्तावहरु
१. आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०८०/०४/०१ देखि २०८१ / ०३ / ३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने ।
३. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दरले हुन आउने रु. २,९८,९६,७८७.३८ /- बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।
४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१ / ०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
५. बैंकको मिति २०८१ / ०१ / २६ गतेको सञ्चालक समितिको ४५० औं बैठकद्वारा सोही मितिबाट लागु हुने गरी बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा श्री इला शर्मालाई र मिति २०८१ / ०३ / २४ गतेको सञ्चालक समितिको ४५६ औं बैठकद्वारा सोही मितिबाट लागु हुने गरी बैंकको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा श्री अनिल कुमार ज्ञवालीलाई नियुक्त गरिएको निर्णयलाई अनुमोदन गर्ने ।
विशेष प्रस्ताव
१. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ४ प्रतिशतका दरले हुन आउने रु. ५६,८०,३८,९६०.२३/- बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
३. (क) बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।
(क-१)बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धमा ।
(क-२) बैंकको शेयरको किसिम सम्बन्धमा ।
(क-३) शेयर खरिद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धमा ।
(ख) बैंकको नियमावलीमा संशोधन गर्ने ।
(ख-१) गणपूरक संख्या सम्बन्धमा ।
(ख-२) संचालक हुन लिनु पर्ने न्यूनतम शेयर संख्या सम्बन्धमा ।
(ख-३) मतदान गर्ने अधिकार सम्बन्धमा ।
(ख-४) शेयरधनीको हक तथा विशेष सुविधाको सम्बन्धमा ।
(ख-५) अग्राधिकार शेयर सम्बन्धी व्यवस्था ।
(ख-६) नेपाल राष्ट्र बैंकको स्वीकृति लिई सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि गर्ने गरी नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।
४. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।