काठमाडौं- नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा असन्तुष्टि जनाएको छ।
चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका हुन्।
इन्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ, ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रस्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरेको थियो ।
एक सय रुपैयाँ दरको बैँकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैँकलाई स्वीकृति दिएको समेत दिइसकेको छ।
नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै आएको छ।