काठमाडौं- असोज १० गतेदेखी परेको अविरल वर्षाले क्षतिग्रष्त बिपी राजमार्ग दशैँ अगाडि सञ्चालनमा नआउने भएको छ ।
पूर्वी पहाडी जिल्ला र तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको यो राजमार्ग दशैँ अगाडी सञ्चालनमा आउन नसक्ने गरि बिग्रिएको हो ।
सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार बिपी राजमार्गका विभिन्न ठाउँमा गरी २ किलोमिटर सडक खण्ड बाढी र पहिरोले नामेट बनाएको छ । विभागका अनुसार तीन दिनको बाढीमा सबैभन्दा बढी प्रभावित बनेको बिपी राजमार्गको २ हजार ५० मिटर खण्ड बाटो यहाँनेर थियो भन्ने समेत निशाना नराखी बगेको छ ।
बनेपा–सिन्धुली–बर्दिबास १६० किलोमिटर यस राजमार्गमध्ये काभ्रेको रोशीदेखि नेपालथोकसम्मको सडकखण्डको लम्बाई करिब ३० किलोमिटर जति छ । त्यसमध्ये २ हजार ५० मिटर सडकखण्ड निशानासमेत नरहने गरि बाढीले बगाएको विभागको तथ्याङ्क छ ।
उनका अनुसार दशैँ अगाडी नै त्यहाँ ट्रयाक खोलेर अस्थायी रुपमा गाडी चलाउन सक्ने सम्भावना पनि छैन । तर, तिहारसम्म ट्रयाक खोल्न सकिन्छ भनेर विभागले त्यस अनुसारको तयारी गरिरहेको उनको भनाइ छ।