काठमाडौं – आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ ।
राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोजकले एक्स्पोमा पहिलो पटक खुल्ला बजार समेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुल्ला गरिएको छ ।पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुल्ला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् ।
हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रुपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाई छ ।
एक्स्पोका संयोजक सम्यक मान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरिने पनि उनले जानकारी दिए ।
संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । साथै अनलाइन माध्यमबाट स्टल बुकिङ गर्ने व्यवस्था भएको पनि आयोजकले जनाएको छ । एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहनेछन् ।
एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ ।