काठमाडौं- ताप्लेजुङमा ‘नो केबलकार’ समूहको प्रदर्शन जारी रहँदा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथिभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको उक्त समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गरेपछि प्रशासनले प्रदर्शनलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।
शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गरेका हुन्। पुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, जुलुस तथा सम्भावित हुलदंगा र झडपको जोखिमका कारण आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार, निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, प्रदर्शन, घेराउ तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएको प्रशासनको भनाई छ ।
यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ ।