काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले यस्तो बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ। १३९ वटा स्थानीय तहको भने १ प्रतिशत भन्दा कम बेरूजु छ।
सबैभन्दा बढी बेरुजु आउनेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका छ। यो पालिकामा एक अर्ब ६४ करोड रूपैयाँको लेखा परीक्षण गरिएको थियो। जसमध्ये २५ करोड ७७ लाख रूपैयाँ बेरुजु निस्किएको छ।