Nexkhabar

पठाओको सेवा अब १८ सहरमा (भिडियोसहित)

काठमाडौं- पठाओले नेपालका थप १८ सहरमा सेवा विस्तार गरेको छ । चर्चित राइड सेयरिङ प्लेटफर्म पठाओले यसअघि काठमाडौं उपत्यका र चितवनमा सीमित सेवालाई नयाँ वर्ष २०८१ को अवसर पारी शनिवारदेखि​ सातै प्रदेशमा विस्तार गरिएको हो ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले स्वरोजगार सिर्जना र जनजीवन सहज बनाउँदै काठमाडौं उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा आफूहरु उत्साहित भएको बताए । बस्न्यातका अनुसार कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा विस्तार भएको छ ।

त्यस्तै मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको सेवा सुरु भएको छ ।लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको विरेन्द्रनगरमा समेत सेवा विस्तार गरिएको बस्न्यातले बताए । भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार भएको बताइएको छ ।

नवीकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजात सहित पठाओमा आबद्धता हुन सकिन्छ । कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिने बस्न्यताले बताए ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा पाँच हजार बढी दर्ता भइसकेको कम्पनीले जनाएको छ ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top