काठमाडौं- एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य मलेशियाले २० ओभरमा ६ विकेट गुमाएर सफल पारेको थियो । योसँगै मलेसिया यसै वर्ष आयोजना हुने टी–२० एसिया कपका लागि पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा थाइल्याण्डलाई पराजित गर्दै युएईले एसिया कपमा आफ्नो स्थान पक्का गरेको थियो । एसिया कपमा छनोट चरणबाट भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दुई टोली सहभागी हुनेछन् ।
मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन् । उनलाई माहिरा इस्माइलले १६ रन र मास एलिसाले १३ रन बनाएकी थिइन् । नेपालका लागि कविता जोशी र सीता रानामारले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रन जोडे । उनले ३७ बलमा दुई चौका प्रहार गरिन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले दुई चौका पनि प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । यस क्रममा उनले दुई चौका प्रहार गरिन् ।
खेलको अन्त्यतिर डोली भट्टले विस्फोटक पारी खेलेकी थिइन् । रनआउट हुनुअघि उनले १४ बलमा २५ रन बनाएकी थिइन् । उनले दुई छक्का र एक चौका प्रहार गरिन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ तथा विनिफ्रेड दुराईसिङमले १ विकेट लिए ।