Nexkhabar

नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध

काठमाडौं – नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो ।सर्वेक्षणमा करिव ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन् ।

मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ । २०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वामित्व सबैभन्दा कम ८ प्रतिशत छ ।
सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलव ज्याला सुविधा लिई काम गर्नेहरुभन्दा बढिरहेको पनि दाबी गरिएको छ ।

यो सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तु खरिद तथा विक्री गर्दा हुने व्यापार अन्तर अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलब ज्याला, पूँजी निर्माण लगायत तथ्यांक आँकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रिय स्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको सूचीलाई लगत सूचीका रूपमा प्रयोग गरिएको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top