काठमाडौं- नागार्जुन नगरपालिकाले निजी विद्यालयहरुको शुल्क निर्धारण गरेको छ । नगरपालिकाको गत चैत्र १५ गते बसेको कार्यपालिका तथा नगर शिक्षा समितिको बैठकले नगरपालिकामा सञ्चालित विद्यालयहरुले लिने विभिन्न शुल्कहरु तोकेको हो ।
नगरपालिकाका अनुसार सार्वजनिक विद्यालयहरुले विद्यार्थी भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने उल्लेख छ ।
यस्तै निजी लगानी र शैक्षिक गुठी अन्तर्गत सचालित विद्यालयहरुले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म पाँच सय जना विद्यार्थी भएका विद्यालयले कम्तीमा १० प्रतिशत, आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १२ प्रतिशत र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयले कम्तिमा १५ प्रतिशत विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने जनाएको छ ।
यस्तै गरी निजी लगानीका विद्यालयहरुले मासिक पढाइ, वार्षिक भर्ना, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास परिवहन र भोजन शुल्कबाहेक अन्य शुल्क लिन नपाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूर्व प्राथमिक तह नर्सरीका लागि दुई हजार ४ सयदेखि ३ हजार ७५० रुपैंयासम्म शुल्क लिन पाइने जनाएको छ । यस्तै कक्षा १२ का लागि हजार ५ सय रुपैँयादेखि ७ हजार रुपैंयासम्म लिन पाइने नगरपालिकाको निर्णयमा उल्लेख छ ।