काठमाडौं – नागार्जुन नगरपालिकाले विद्यार्थी सचेतना पाठ्यसामाग्री लागू गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंसँगको सहकार्यमा तयार भएको पाठ्यपुस्तक स्थानीय विद्यालयहरुमा लागू गर्ने भएको हो ।
बिहिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विद्यालयका प्रतिनिधिहरुलाई पुस्तक हस्तान्तरण गर्दै पाठ्यसामाग्री लागू गर्ने सम्झौता गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नगर प्रमुख मोहनबहादुर बस्नेतले प्रकाशित पाठ्यपुस्तकले चेतनास्तरको विकासमा कोशेढुँगासावित हुने बताउनु भयो । समाज र स्वयं अभिभावकले आफ्नो विद्यार्थीको दैनिकी ख्याल गर्न नसक्दा बालबालिकाहरु कूलतमा फस्ने गरेको उहाँले बताउनुभयो ।

अहिलेका युवापुस्तामा आफूभन्दा ठूलालाई गर्ने मान सम्मान समेत घट्दै गएको बताउँनु हुँदै उहाँले भन्नुभयो, ‘पहिलेका मानिस ठूला देख्ने वित्तिकै मान सम्मान गर्थे, चुरोट रक्सी खाइरहेका बेला लुकाउँथे अचेल त हाकाहाकी खान्छन् ।’ नगर प्रमुख बस्नेतले समाजमा हुने अपराधिक घटनाको सूचना दिन सबै नागरिक उत्तिकै सक्रिय हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बालबालिकाहरुलाई उपराधउन्मुख हुनबाट जोगाउन र सामुदायिक भावना अभिवृद्धि गर्न यो अवधारणा ल्याइएको बताउनुभयो । उहाँले सबै विद्यालयहरुले पाठ्यपुस्तक लागू गरेर अपराधरहित सम्मुनत समाज निर्माण गर्ने अभियानमा अग्रसर हुन पनि आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले हरेक नागरिक बर्दीबिनाका प्रहरी भएकाले सामाजिक अपराध न्यूनिकरणमा सबैको उत्तिकै साथ र सहयोग हुनुपर्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जालहरुको मनोमानी प्रयोगले पनि समाजमा अपराध बढीरहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा नागार्जुन नगरपालिकाकी उप प्रमुख सुशिला अधिकारीले चेतनामूलक नयाँ पाठ्यपुस्तकले विद्यार्थी र समग्र समाजलाई सकारात्मक सन्देश दिने बताउनु भयो ।

कार्यक्रममा अमरज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक सुन्दर पन्तले विद्यालय तहका विद्यार्थीहरु समेत ठमेलका पबहरुमा जाने गरेको हुँदा त्यसतर्फ अभिभावक र सुरक्षा निकाय चनाखो हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नागार्जुनमा रहेका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु सहभागि हुनुहुन्थ्यो ।