Nexkhabar

नागार्जुन नगरपालिकाको मूल्यांकनमा प्रगति, तीन शिर्षकमा शत प्रतिशत अंक

नेक्स खबर संवाददाता-

काठमाडौंको नागार्जुन नगरपालिकाले कार्यसम्पादन र उपलब्धिमा उल्लेख्य सुधार गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नगरपालिकाको स्थिति विगतमा भन्दा सुधार भएको पाइएको हो ।

नगरपालिकाले संस्थागत स्वमूल्यांकन अन्तर्गत गत वर्ष ७७ दशमलब ५ प्रतिशत अंक प्राप्त गरेकोमा आर्थिक वर्ष २०७९/८० मा ७९ दशमलव ५ प्रतिशत अंक गरेको हो । नगरपालिकाको समग्र स्थिति ७८ दशमलव ५७ प्रतिशत, प्रक्रियागत स्थिति ७७ दशमलव ९४ प्रतिशत र परिमाणात्मक स्थिति ८१ दशमलव ११ प्रतिशत अंक प्राप्त गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ। यसलाई विभिन्न १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ।

नगरपालिकाले तीन वटा शिर्षकमा शत प्रतिशत अंक पाएको छ । नगरपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र न्यायिक कार्य सम्पादनमा शत प्रतिशत अंक पाएको हो ।

काठमाडौंका १० पालिकामध्ये कतिपय पालिकाको नतिजा अझै सार्वजनिक भएका छैनन । सार्वजनिक पालिकाहरु मध्ये काठमाडौं महानगरले ७८ दशमलव ५ अंक, कीर्तिपुर नगरपालिकाले ७७ अंक, चन्द्रागिरि नगरपालिकाले ७६ दशमलव ७५ अंक, दक्षिणकाली नगरपालिकाले ६५ अंक र शंखरापुर नगरपालिकाले ६५ दशमलव ७५ अंक पाएको छ ।

स्थानीय तहको कार्यपक्रिया तथा उपलब्धिहरुको विषयमा लेखाजोखा गरी समीक्षा गर्न मन्त्रालयले पालिकाहरुको मूल्यांकन गर्दै आएको छ । यस्तो नतिजालाई स्थानीय तह कार्यसम्पादन सूचकका रुपमा लिई वित्तीय हस्तान्तरण गर्दा समेत आधार मान्न सकिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा मूल्यांकनका लागि शासकीय प्रबन्धलगायत १० विषय क्षेत्रहरू र १०० वटा सूचकहरू राखिएका छन्। पहिलेजस्तो न्यूनतम शर्तका क्षेत्रहरू नराखी सबै क्षेत्रलाई कार्यसम्पादन मापनका सूचकहरूमा समावेश गरी १०० अंक कायम गरिएको छ।

स्वमूल्यांकन नतिजाले संस्थागत क्षमतालाई बढाउने, स्रोतको सुनिश्चितता गर्नुका साथै आर्थिक अनुशासन कायम गर्नमा मद्दत पुग्ने मन्त्रालयले जनाएको छ ।

कठमाडौं जिल्लाका साविक पाँच गाविस इचङ्गुनारायण, सीतापाईला, रामकोट, भीमढुङ्गा, स्यूचाटार समेटेर घोषणा भएको नागार्जुन नगरपालिका २९.८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । दश वटा वडामा बिभाजन गरिएको यस पालिकाको जनसंख्या १ लाख १५ हजार ४३७ जना रहेको छ ।

नगरपालिकोको प्रमुखमा मोहनबहादुर बस्नेत हुनुहुन्छ भने उप प्रमुखमा शुशिला अधिकारी हुनुहुन्छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top