काठमाडौंको सुन्धारा क्षेत्र बुधवार साँझ नगर प्रहरी र व्यापारीबीच झडप भयो । झडपमा काठमाडौं महानगरपालिकाका नगरप्रहरी र व्यापारी गरी आधा दर्जन भन्दा बढी घाइते भए । झडपको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भईरहेको छ ।
महानगरको कडाइसँगै फुटपाथ व्यवसायीले दिउँसोको व्यापार साँझपख गर्दै आएका छन् । साँझपख पनि व्यापार गर्न रोक लगाएपछि नगर प्रहरी र व्यापारीहरुबीच भनाभन भएको थियो । सोही क्रममा विवाद बढ्दै जाँदा नगरह्ररीले लाठीचार्ज गरेको थियो ।
घटनाको अहिले चौतर्फी आलोचना भईरहेको छ । अहिले काठमाडौँ महानगरपालिकाले स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएका हुन् । घटनाबारे छानबिन गर्न बैठक समेत बस्दैछ ।
डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी, सामान समेत लुटपाट गरेर लगेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आरोप छ ।