काठमाडौं – मकवानपुरस्थित थाहा नगरपालिकाको संस्थागत स्वमूल्यांकन नतिजा आउन यस वर्ष पनि ढिलाइ भएको छ । हेटौंडा उपमहानगरपालिकासहित छिमेकी गाउँपालिकाहरुले समेत धमाधम नतिजा सार्वजनिक गरिसक्दा पनि थाहा नगरपालिकाले भने अझै नतिजा सार्वजनिक गर्न सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघको पहिलो साता नतिजा सार्वजनिक गर्न पत्राचार गरेको थियो । मन्त्रालयले गत २९ गते पौष मसान्तभित्र स्थानीय कार्यपालिकाबाट नतिजा स्वीकृत गरी माघको पहिलो साता सूचनापाटी र वेबसाइटमार्फत सार्वजनिक गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार थाहा नगरपालिकाको संस्थागत स्वमूल्यांकन नतिजा पृष्ठपोषणको क्रममा छ । माघको पहिलो साता नै सार्वजनिक गर्नुपर्ने यो नतिजा हालै मात्रै पृष्ठपोषणका लागि पठाइएको हो । पृष्ठपोषणपश्चात कार्यपालिकाले स्वीकृत गरेपछि मात्रै नतिजा सार्वजनिक गरिन्छ ।
थाहा नगरपालिकाले गत वर्षपनि ढिलो गरी नतिजा सार्वजनिक गरेको थियो । पौष मसान्तभित्र स्वीकृत हुनुपर्ने यो नतिजा माघ २५ गते मात्रै कार्यपालिकाको बैठकबाट स्वीकृत भएको थियो । यसरी स्वीकृत नतिजा मन्त्रालयबाट २६ गते सार्वजनिक भएपनि नगरपालिकाको वेबसाइटमा भने फागुण १९ गते मात्रै सार्वजनिक गरिएको थियो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार नगर कार्यपालिकाले अनुमोदन गरेको ७ दिनभित्र नतिजा कार्यालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ । तर थाहा नगरपालिकाले झण्डै एक महिनापछि मात्रै यो सूचना वेबसाइटमा अप्डेट गरेको थियो ।
हेर्नुहोस गत वर्षको सूचना र मिति
नगरपालिकाले मन्त्रालयमा बुझाएको पत्रमा माघ २५ गतेको कार्यपालिकाको बैठकले स्वमूल्यांकन नतिजा स्वीकृत गरेको देखिएपनि नगरपालिकाले सार्वजनिक गरेको सूचनामा भने फागुण ३ गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको भनेर उल्लेख छ । गत वर्षको नतिजामा थाहा नगरपालिकाले ८६.२५ अंक प्राप्त गरेको थियो ।
मन्त्रालयमा पेश गरिएको पत्र

हालसम्म मकवानपुरका १० मध्ये ४ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी ८ अंक प्राप्त गरेको छ । यस्तै भिमफेदी गाउँपालिकाले ४.५, इन्द्रसरोवर गाउँपालिकाले ३ र कैलाश गाउँपालिकाले ३.५ अंक पाएको छ । अब थाहा नगरपालिकासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी र राक्सिराङ गाउँपालिकाको स्वमूल्यांकन नतिजा सार्वजनिक हुन बाँकी छ ।
स्थानीय तहको कार्यपक्रिया तथा उपलब्धिहरुको विषयमा लेखाजोखा गरी समीक्षा गर्न मन्त्रालयले पालिकाहरुको मूल्यांकन गर्दै आएको छ । यस्तो नतिजालाई स्थानीय तह कार्यसम्पादन सूचकका रुपमा लिई वित्तीय हस्तान्तरण गर्दा समेत आधार मान्न सकिने कार्यविधिमा उल्लेख छ ।