काठमाडौं – मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म भत्तावापत ४३ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कर्मचारी र पदाधिकारीलाई ४३ लाख ९४ हजार ८५ रुपैयाँ भत्तावापत वितरण गरेको हो ।
नगरपालिकाले पदाधिकारी बैठक भत्तावापत १५ लाख ८० हजार ५ सय रुपैयाँ, महंगी भत्तावापत १२ लाख १२ हजार रुपैयाँ, कर्मचारी बैठक भत्तावापत २ लाख ७६ हजार ७२० रुपैयाँ, अन्य भत्तावापत १३ लाख २४ हजार ८६५ रुपैयाँ भत्ता बाँडेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड ३२ लाख ७० हजार रुपैयाँ भत्ता शीर्षकमा रकम विनियोजन गरेको छ । नगरपालिकाले स्थानीय भत्ता शीर्षकमा २ लाख रुपैयाँ, महंगी भत्ता शिर्षकमा ५० लाख रुपैयाँ, कर्मचारी बैठक भत्ताका लागि ६ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै अन्य भत्ता शीर्षकमा ३४ लाख ५० हजार रुपैयाँ र पदाधिकारी भत्ता शिर्षकमा ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
यस्तै नगरपालिकाले पछिल्लो तीन महिनामा इन्धन शीर्षकमा मात्रै ८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको पाइएको छ । नगरपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन र अन्य शीर्षकमा गरी ८ लाख १५ हजार ५२९ रुपैंयाको इन्धन प्रयोग गरेको पाइएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को माघदेखि चैत्रसम्ममा नगरपालिकाले पदाधिकारीको नाममा २ लाख ९१ हजार ६५६ रुपैंया र कार्यालय प्रयोजन शीर्षकमा ५ लाख २३ हजार ८७३ रुपैंया खर्चेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा इन्धनमा मात्रै ३२ लाख ३ हजार ५७६ रुपैयाँ खर्च गरेको छ । जसमा पदाधिकारी शीर्षकमा ७ लाख ९६ हजार ९०९ रुपैयाँ, कार्यालय प्रयोजन शीर्षकमा १७ लाख ४३ हजार ०५३ रुपैंया र अन्य शीर्षकमा ७ लाख ३ हजार ६१४ रुपैयाँ खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले विभिन्न शीर्षकमा इन्धनका लागि मात्रै ६२ लाख ९२ हजार रुपैंया विनियोजन गरेको छ ।
पत्रपत्रिका विज्ञापनमा मात्रै ५ लाख खर्च
यस्तै नगरपालिकाले पछिल्लो तीन महिनामा ३ लाख ९६ हजार १९५ रुपैंयाको विज्ञापन सूचना प्रकाशन गरेको छ । नगरपालिकाले पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन शिर्षकमा हालसम्म ५ लाख ७१ हजार १८५ रुपैँया खर्चेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा भन्दा पछिल्लो तीन महिनामा दोब्बर रकम खर्च गरेको देखिन्छ । यो शिर्षकमा नगरपालिकाले २७ लाख ५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले पदाधिकारी सुविधा शिर्षकमा छुट्याएको रकममध्ये ९६ दशमलव ९२ प्रतिशत अर्थात् ६ लाख ३० हजार रुपैँया खर्च गरिसकेको छ । यस्तै कर्मचारीहरुलाई पुरस्कारस्वरुप २ लाख २१ हजार रुपैंया वितरण गरेको छ ।
नगरपालिकाले कर्मचारीहरुलाई तालिम दिनका लागि १० लाख १५ हजार रुपैँयाभन्दा बढी रकम खर्च गरेको छ । यस्तै भ्रमणका तीन वटा शीर्षकमा मात्रै ११ लाख रुपैँया भन्दा बढी रकम खर्च गरेको देखिन्छ ।