काठमाडौं- चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ । निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप चीनले अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, स्पेन र स्वीट्जरल्याण्डका नागरिकलाई विना शुल्क भ्रमण भिसा दिने भएको हो ।
उसो त हालैमात्र चीनले नेपालका लागि समेत निःशुल्क प्रवेश अनुमति (भिसा) उपलब्ध गराउने घोषणा गरेको छ । निःशुल्क भिसा योजना चीनले २०२४ को सुरुवातदेखि नै चरणबद्ध रूपमा घोषणा गरेको थियो । सुरुमा एक वर्षको लागि तय गरिएको यो नीतिले धेरै मानिसहरूलाई चीन भ्रमण गर्न र व्यापार व्यवसाय गर्न प्रोत्साहन गरेको छ । थप भिसा फ्री नीतिले चिनियाँ नागरिक र विदेशी नागरिकहरू बिच सांस्कृतिक तथा आर्थिक आदानप्रदानलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।
कोभिड–१९ पछि तीन वर्षसम्म चीनले विदेशी पर्यटकका लागि चीन प्रवेशमा कडाइ गरेको थियो । सन् २०२३ पछि मात्र चीनले विदेशी नागरिकका लागि सहज प्रवेश दिन थालेको हो ।
चिनियाँ अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा ३५.५ मिलियन अर्थात् साढे ३ करोड बढी विदेशी नागरिकहरूले चीनको भ्रमण गरेका छन् ।