Nexkhabar

चन्द्रागिरि सडक बनाउन सबै पार्टी एकैठाउँ, सामुहिक प्रयासमा जोड

काठमाडौं । चित्लाङ-चन्द्रागिरी-थानकोट सडक स्तरिकरणका लागि आज नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको छ ।

छलफलमा  मकवानपुरका वर्तमान एवम् पुर्व साँसद, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका प्रमुख एवम् जनप्रतिनिधि र स्थानीय अगुवाहरुको सहभागिता थियो ।  छलफलमा मकवानपुर क्षेत्र नं. २ का सांसद महेश बर्ताैला, संविधान सभाका सदस्य सुवाशसिंह ठकुरी, सत्तारुढ नेकपा माओवादीका पूर्व सांसद रामनारायण बिडारी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, नेपाली कांग्रेसका नेता जयराम लामिछानेसहित स्थानीय नेताहरुको पनि सहभागिता थियो ।

एकअर्कामा दोषारोपण गर्नृ भन्दा एकिकृत पहलबाट मात्रै विकास सम्भव हुने भएकाले छलफल गरिएको सांसद महेश बर्ताैलाले जानकारी दिए । ‘यो सडक स्तरिकरणमा सामुहिक र एकीकृत प्रयासले नै महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’ उनले भने ।

बर्तौलाले मंगलवार मात्रै चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरुमा क्र्यास ब्यारियर तथा तारजाली राख्नका लागि छलफल थालेका थिए । बर्तौलाले सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाण्डौं प्रमुख नारायण भण्डारीसँग छलफल गरेका हुन ।

“जोखिमयुक्त ठाउँहरुमा चाँडोभन्दा चाँडो दुर्घटना न्यूनिकरणका उपायहरु ऋपनाउने निर्णय भएको छ ।” बर्ताैलाले नेक्स खबरलाई भने । सरकारको प्राथमिकतामा नपर्दा यो सडक स्तरीकरण हुन नसकेको उनको भनाइ छ । “एक अर्ब बजेट चाहिनेमा हामीले ३० करोड रुपैंया माग्दा पनि जम्मा २ करोड रुपैंया दिइयो ।” बर्ताैलाले भने ।


यो रकमले धेरैमा ५ सय मिटर मात्रै कालोपत्रे हुन सक्ने सडक विभागको ठहर छ । थानकोटबाट दुर्घटनास्थल सेतो पहरासम्म करिब पाँच किमि छ । यो ठाउँसम्म पिच हुनलाई २० करोड बजेट चाहिन्छ । थानकोट–चित्लाङ सडक योजना भनेर ०७० यता करिव ३० करोड बजेट खर्च भईसकेको छ ।

चित्लाङ चन्द्रागिरी थानकोट सडकखण्डमा गत शनिवार भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमको परिवारको मृत्यु भएको हो। डा गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो। दुर्घटनामा डा सृष्टि तिवारी गौतम भने घाइते छिन्। ।

यो सडकमा छोटो अवधिमा करिव १० जनाको ज्यान गएपछि स्थानीय आक्रोशित छन । केन्द्रिय राजधानी काठमाडौं प्रदेश राजधानी हेटौंडालाई जोडने सबैभन्दा छोटो यो मार्गको ट्रयाक खुलेको ६८ वर्ष वित्दा पनि कालोपत्रे हुन सकेको छैन । राणाकालमा कुलेखानी, भीमफेदी हुँदै यही बाटो भएर काठमाडौंमा गाडी बोकेर ल्याइन्थ्यो  । यो सडकको लम्वाइ थानकोट गोदामदेखि मकवानपुर भंज्याङसम्म करिब २२ किमि छ । अहिले मकवानपुरतर्पm भन्दा पनि काठमाडौंतर्पmको सडकको अवस्था नाजुक छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top