Nexkhabar

चन्द्रागिरि सडकको काम रफ्तारमा गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको काम रफ्तारमा गर्न निर्देशन दिएका छन् । चन्द्रागिरि सडकको निरीक्षण पछि मन्त्री दाहालले कुनै पनि बहानाबाजीमा कामको ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

उनले काठमाडौँ जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धिको सहयोगी समेत बन्न सक्ने बताए । यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँ सम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने उनको भनाइ छ । उनले विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए।

यस्तै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले मकवानपुर तथा काठमाडौँवासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्त्वपूर्ण रहेको बताए। यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाइ जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताएका छन् ।

अनुगमनमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री दाहालसहित, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संविधान सभा सदस्य सुवासचन्द्र ठकुरी, सासद महेश बर्ताैला, थाहा नगरपालिकाका प्रमुख बिष्णु विष्ट, सडक बिभागको प्राविधिकहरु पुगेका थिए ।

सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । अहिले नेपाल सरकारको रु। ४० करोड बजेट मार्फत यस सडक स्तरिकरणको कार्य भइ रहेको छ ।

मन्त्रीसहितको टोलीले मदन भण्डारी बिज्ञान तथा प्रविधि विश्वविद्यालयका प्रोफेसर, विद्यार्थीहरु र स्थानीयसंग अन्तरक्रिया पनि गरेका छन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top