काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो।
मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजारभन्दा बढी मानिसहरूलाई बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।
बैंकले बागमती प्रदेशको भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका, काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सात सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।
साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाँउपालिका, पूर्वीचौकी गाँउपालिका, बाजुरा जिल्लाको बढिमालिका नगरपालिका, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा सात सय ५० भन्दा बढीको सहभागिता थियो।
बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।