Nexkhabar

कुन्छाल–कुलेखानी सडक : खरायो गतिको काम अहिले कछुवा गतिमा, घरहरु धुलाम्मे

  • रामजी बलामी –

मकवानपुरको थाहा नगरपालिकास्थित कुन्छाल–कुलेखानी सडकको काम सुस्ताएको छ । केही साता अघिसम्म खरायो गतिमा भईरहेको काम एक्कासी कछुवाको गतिमा परिणत भएको हो ।

सडक खुलेको झण्डै ५० वर्षपछि भईरहेको विस्तार र स्तरीकरणको काम एकाएक सुस्त भएपछि स्थानीय चिन्तित भएका छन् । सडकको काम रोकिएर फेरि पहिलेकै अवस्थामा बस्नुपर्ने हो कि भन्ने चिन्ता छाएको स्थानीय बताउँछन् ।

“अहिले त धुलो उडेर बाहिर निस्किनै गाह्रो छ ।” स्थानीय कृष्ण बलामीले भने । “चाँडो काम सकिएर सडक कालोपत्रे होला कि भनेर सहेर बसेको झन काम नै रोकिएपछि तनाव भयो”, उनले भने ।

उनी जस्तै स्थानीय सर्मिला गोपाली पनि सडकको कामले गति नलिएकोमा चिन्तित छिन् । “यो काम वर्षाअघि सकिएन भने त हाम्रो हरिविजोग हुन्छ ।” उनले भनिन् ।

कामलाई गुणस्तर र गति दिन लागिपरेका छौं : ईन्द्र बहादुर श्रेष्ठ, संयोजक, सडक अनुगमन समिति

कुन्छाल-कुलेखानी सडक स्तरोन्नतीको कामलाई गुणस्तर बनाउन गठित अनुगमन समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठ कामलाई जसरी पनि गति दिन लागिपरेको बताउछन् । काम केही सुस्त भएपनि आफूहरु थाहा नगरपालिकाका प्रमुखसहित सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय चितवन जान लागेको जानकारी दिए । “कामलाई गति दिन हामी छलफलका लागि चितवन जाँदैछौं । ” श्रेष्ठले भने ।

उनले कामको गुणस्तरका लागि स्थानीयस्तरमा नियमित अनुगमन भईरहेको जानकारी दिए । “हामीले कार्यक्षेत्रमा गएर नियमितरुपमा अनुगमन गरिरहेका छौं, कतिपय ठाउँमा सुधार पनि गर्न लगाएका छौं ।” उनले भने ।

सडक स्तरोन्नतिका लागि काम सुरु भएको सरस्वती बजारदेखि लिलाखेलसम्मको बाटो अहिले धुलाम्मे छ । चन्द्रागिरि सडक संचालनमा आएदेखि कुन्छाल कुलेखानी सडकमा पनि सवारीको चाप बढदो छ । निजी र सार्वजनिक मात्रै होइन मालवाहक सवारीसाधनले समेत अहिले यहि बाटो प्रयोग गर्दै आएको छ ।

बजेट व्यवस्थाबारे छलफल भईरहेको छ : सनेश यादव, इन्जिनियर

सडक स्तरोन्नतिका लागि खटिरहेका सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका इन्जिनियर सनेश यादवले काम पूर्णत नरोकिएको बताए । “कतिपय ठाउँमा निर्माणको काम ढिलो भएको होला तर काम नै रोकिएको भने होइन । ” यादवले भने ।

यादवले निर्माण कम्पनीले सोचेभन्दा तीव गतिमा काम गरेको दावी गर्दै भने, “कम्पनीले तीन महिनामा करिव ३५ प्रतिशत काम गरेको छ, यसलाई नराम्रो भन्न मिल्दैन ।” उनले निर्माण कम्पनी र कार्यालयबीच आवश्यक छलफल भईरहेको बताए । आर्थिक वर्ष २०८०/८१ को बजेट सकिएपनि त्यसलाई मिलाउन उच्चस्तरीय पहल भईरहेको बताए ।

कार्यालयले गत आर्थिक वर्षमा १७ करोड र चालु आर्थिक वर्षमा ५ करोड रुपैंया रकम विनियोजन गरेको थियो ।

काम छिट्टै सुरु हुन्छ : भीम धराला, इन्जिनियर, सिंह एण्ड ब्रदर्श कन्सट्रक्शन प्रा लि

यो सडक स्तरोन्नतिको ठेक्का पाएको सिंह एण्ड ब्रदर्श कन्सट्रक्शन प्रा. लिले पनि सडकको काम केही साताभित्रै सुरु हुने दावी गरेको छ । कम्पनीका इन्जिनियर भीम धरालाले मेशिनको काम अहिलेपनि जारी रहेको जानकारी दिए ।

“हामीले ४ महिनामै ४० प्रतिशत काम सम्पन्न गरेका छौं, तर सोही अनुपातमा बजेट निकाशा भएको छैन ।” उनले भने । इन्जिनियर धरालाले निर्माण सामाग्रीवापतको उधारो तिर्न नसक्दा कामले गति लिन नसकेको बताए । उधारो तिर्ने बजेट आउनासाथ काम सुरु हुने उनले जानकारी दिए ।

कुलेखानी परियोजनाका लागि वि.सं. २०३२ सालमा ट्रयाक खुलेको यो सडक झण्डै ५० बर्षपछि कालोपत्रे हुन लागेको हो । थाहा नगरपालिकाको वडा नम्बर १ र ६ क्षेत्रमा पर्ने ५ किमी सडक १४ मिटरको बन्दैछ ।

सडकको अनुगमन गर्नुहुँदै मकवानपुर क्षेत्र नं. २ का सांसद महेश बर्ताैला
सडकको अनुगमन गर्नुहुँदै मकवानपुर क्षेत्र नं. २ का सांसद महेश बर्ताैला

निर्माण कम्पनीले २०७९ फागुन २१ गते सडक निर्माणको सम्झौता गरेको थियो । यो सडकको लागत २९ करोड ५४ लाख ९१ हजार १६५ रुपियाँ  रहेको छ । सडक २०८१ भदौ २० गते सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 

सडकको विषयमा केहि समयअघि तयार पारिएको भिडियो

Loading spinner

प्रतिक्रिया

Scroll to Top