काठमाडौं – स्थानीय तहहरुको कार्य सम्पादन मुल्यांकनमा तारकेश्वर नगरपालिका पहिलो र नागार्जुन नगरपालिका दोस्रो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार काठमाडौं उपत्यकाका दश वटा स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका पहिलो र नागार्जुन नगरपालिका दोस्रो हुन सफल भएको हो ।
आयोगले हालै सार्वजनिक गरेको नतिजा अनुसार तारकेश्वर नगरपालिकाले ७३.९६ ल्याएको छ भने नागार्जुन नगरपालिकाले ६६.९८ अंक प्राप्त गरेको हो ।
आयोगका अनुसार टोखा नगरपालिकाले ६६.३४, चन्द्रागिरि नगरपालिकाले ६६.०८ अंक पाएको छ । त्यस्तै शंखरापुर नगरपालिकाले ६४.६२, कागेश्वरी मनहरा नगरपालिकाले ६३.७१ र किर्तिपुर नगरपालिकाले ६२.२२ अंक पाएको छ । काठमाडौं महानगरपालिकाले ६३.०२ अंक पाउँदा दक्षिणकाली नगरपालिकाले ६२.२२ र बुढानिलकण्ठ नगरपालिकाले ५८.३१ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्य सम्पादन सूचनाको मुल्यांकन गरि अंक प्रदान गरिएको आयोगले जनाएको छ । आयोगले यसै मूल्यांकनका आधार वित्तीय स्थानीय निकायहरुलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्दछ ।
नागार्जुन नगरपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनमा पनि यसपटक प्रगति हासिल गरेको छ । गत वर्ष ७७ दशमलब ५ प्रतिशत अंक प्राप्त गरेकोमा आर्थिक वर्ष २०७९ ८० मा ७९ दशमलव ५ प्रतिशत अंक गरेको हो । नगरपालिकाको समग्र स्थिति ७८ दशमलव ५७ प्रतिशत, प्रक्रियागत स्थिति ७७ दशमलव ९४ प्रतिशत र परिमाणात्मक स्थिति ८१ दशमलव ११ प्रतिशत अंक प्राप्त गरेको छ ।
कठमाडौं जिल्लाका साविक पाँच गाविस इचङ्गुनारायण, सीतापाईला, रामकोट, भीमढुङ्गा, स्यूचाटार समेटेर घोषणा भएको नागार्जुन नगरपालिका २९.८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । दश वटा वडामा बिभाजन गरिएको यस पालिकाको जनसंख्या १ लाख १५ हजार ४३७ जना रहेको छ ।
नगरपालिकोको प्रमुखमा मोहनबहादुर बस्नेत हुनुहुन्छ भने उप प्रमुखमा शुशिला अधिकारी हुनुहुन्छ ।