काठमाडौं- विगत तीन वर्षदेखि नेपालमा बिना दर्ता सञ्चालनमा रहेको अमेरिकी राइड सेयरिङ कम्पनी ‘इन्ड्राइभ’ दर्ता भएको छ । ५ करोड रुपैयाँ लगानी राखेर इन्ड्राइभ वैधानिकरुपमा नेपालमा दर्ता भएको हो ।
आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन्।
उनले भनिन्, ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौं।’ उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन्। उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन्।
कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ। इन्ड्राइभले हाल यो सेवा काठमाडौं, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ। कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ।
इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन। उनले भनिन्, ‘हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ।”
यसअघि ‘पठाओ’ भन्दा केही कम रकममा सेवा दिइरहेको इन्ड्राइभले आफ्ना चालकहरुबाट कमिसन भने लिएको थिएन । इन्ड्राइभलाई पठाओको प्रतिस्पर्धी कम्पनीका रुपमा हेरिएको छ । यसले छोटो समयमा राम्रो बजार विस्तार गरिसकेको छ।