काठमाडौं – आज देशका अधिकांश भागमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ । काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको छ ।

कोशी र मधेश प्रदेशका केही स्थानमा बिहानै वर्षा भएको छ । कोशीको राजधानी विराटनगर र मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहानैदेखि सिमसिम पानी परिरहेको छ । कोशीका हिमाली र उच्चपहाडी भेगमा भने हिमपात भएको जनाइएको छ । पाँचथरको फालेलुङ सहित उच्च पहाडी र हिमाली क्षेत्रमा आज विहानैदेखि हिउँ परेको हो ।
संघीय राजधानी भोलिसम्मै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भोलिसम्म यस्तो अवस्था रहने र त्यसपछि क्रमिक रुपमा मौसममा सुधार आउने विभागको भनाइ छ । मध्य र पूर्वी क्षेत्रमा मौसममा बदली आए पनि देशको पश्चिम क्षेत्रमा भने सामान्यतया मौसम सफा नै छ ।