Nexkhabar

काठमाडौंका ११ पालिकामध्ये बालेनको छलाङ, अरु कुनको अवस्था कस्तो ?

काठमाडौं – स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी प्रगति हासिल गरेको छ । काठमाडौं जिल्लाका ११ वटा पालिकाको गत वर्ष र यस वर्षको नतिजा तुलना गर्दा काठमाडौं महानगरले सबैभन्दा बढी प्रगति हासिल गरेको पाइएको हो ।

गत वर्षको नतिजामा ५७.२५ प्रतिशत मात्रै अंक ल्याएको काठमाडौं महानगरले यस पटक २१.२५ प्रतिशत बढी ७८.५ प्रतिशत अंक ल्याउन सफल भएको छ । महानगरको समग्र स्थिति ५८.३३ प्रतिशत, प्रक्रियागत स्थिति ६०.२९ प्रतिशत र परिमाणात्मक स्थिति ५४.४४ प्रतिशत छ। स्वमूल्यांकनका १० आधारमध्ये महानगरले सहकार्य र समन्वयमा शत प्रतिशत अंक पाएको छ ।

यस्तै शसकीय प्रवन्धमा ८८.८९ प्रतिशत, संगठन र तथा प्रशासनमा ७१.८८ प्रतिशत, वार्षिक बजेट तथा योजना हस्तान्तरणमा ६८.१८ प्रतिशत अंक पाएको छ । यस्तै वित्तीय व्यवस्थापनमा ८६.३६, सेवा प्रवाहमा ७८.१३, न्यायीक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अंक पाएको छ ।

 

काठमाडौंका ११ मध्ये १० पालिकाको नतिजा सुधार भएको छ भने एक वटा पालिकाको नतिजा मात्रै खस्किएको छ । गत वर्षको नतिजामा सबैभन्दा बढी अंक ल्याउन सफल गोकर्णेश्वर नगरपालिकाको नतिजा यस वर्ष खस्किएको हो । आर्थिक वर्ष २०७८ ७९ मा ८८ दशमलव ५ प्रतिशत अंक ल्याएर काठमाडौं जिल्लाकै उत्कृष्ट पालिका बनेको यो नगरपालिकाले यस पटक भने ७१ दशमलव ५ प्रतिशत मात्रै अंक ल्याएको हो ।

काठमाडौं महानगरपछि तारकेश्वर नगरपालिकाले सबैभन्दा धेरै प्रगति गरेको देखिन्छ । यो नगरपालिकाले गत वर्ष भन्दा २०.५ प्रतिशत अंक बढी पाएको छ । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा तारकेश्वर नगरपालिकाले सबैभन्दा बढी ८७ दशमलव ५ प्रतिशत अंक पाएको छ ।

तारकेश्वर नगरपालिकाले गत वर्ष ६७ प्रतिशत मात्रै अंक ल्याएको थियो । तुलनात्मकरुपमा हेर्दा यस पटकको नतिजामा काठमाडौं जिल्लाका १० वटा स्थानीय तहलाई पछि पार्दै पहिलो बनेको तारकेश्वर नगरपालिकाको समग्र स्थिति ८५ दशमलव ७१ प्रतिशत, प्रक्रियागत स्थिति ८५ दशमलव २९ प्रतिशत र परिमाणत्मक स्थिति ९० प्रतिशत छ ।


स्वमूल्यांकनका १० आधारमध्ये नगरपालिकाले संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन र सेवा प्रवाहमा शत प्रतिशत अंक पाएको छ । यस्तै शासकीय प्रवन्ध र सामाजिक समावेशीकरणमा ९५ प्रतिशत अंक पाएको छ ।

यस पटक बुढानिलकण्ठ नगरपालिकाले ८३ प्रतिशत अंक ल्याएको छ । यो नगरपालिकाले गत वर्षको नतिजामा ८० दशमलव २५ प्रतिशत अंक ल्याएको थियो । गत वर्षको तुलनात्मक तथ्यांक हेर्दा यो नगरपालिका आठौंमा पर्छ । यो नगरको वार्षिक तुलनात्मक प्रगति २.७५ प्रतिशत छ ।

यस्तै टोखा नगरपालिकाले ८२ दशमलव २५ प्रतिशत अंक ल्याउन सफल भएको छ । गत वर्षको नतिजामा टोखा नगरपालिकाले ७१ दशमलव ५ प्रतिशत अंक मात्रै पाएको थियो । यो नगरको वार्षिक तुलनात्मक प्रगति १०.७५ प्रतिशत छ ।

यस्तै नागार्जुन नगरपालिकाले यो वर्ष ७९.५ प्रतिशत अंक पाएको छ । गत वर्ष नागार्जुनले ७७.५ प्रतिशत अंक पाएको थियो । नगरपालिकाको समग्र स्थिति ७८ दशमलव ५७ प्रतिशत, प्रक्रियागत स्थिति ७७ दशमलव ९४ प्रतिशत र परिमाणात्मक स्थिति ८१ दशमलव ११ प्रतिशत अंक प्राप्त गरेको छ । नगरपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र न्यायिक कार्य सम्पादनमा शत प्रतिशत अंक पाएको हो ।

आर्थिक वर्ष २०७९ ८० मा पालिकाहरुले प्राप्त गरेको अंकका आधारमा छैठौं स्थानमा कीर्तिपुर नगरपालिका रहेको छ । अघिल्लो वर्ष ६५.५ प्रतिशत अंक पाएको यो नगरपालिकाले यो वर्ष भने ११.५ प्रतिशत बढी अर्थात ७७ प्रतिशत अंक पाएको छ ।

यस्तै चन्द्रागिरि नगरपालिकाले यस वर्ष ७६.७५ प्रतिशत अंक पाएको छ । यो नगरपालिकाले गत वर्ष ७४.२५ प्रतिशत अंक मात्रै पाएको थियो । यो नगरपालिकाले पनि २.५ प्रतिशत प्रगति गरेको तथ्यांकले देखाउको छ ।

उता कागेश्वरी मनोहरा नगरपालिकाले गत वर्ष भन्दा ५.७५ प्रतिशत बढी अर्थात ६७.२५ प्रतिशत अंक ल्याएको छ । यस्तै शखरापुर नगरपालिकाले ६५.७५ प्रतिशत अंक पाएको छ । यो भनेको गत वर्ष भन्दा ११.७५ प्रतिशत बढी अंक पाएको छ ।

यस्तै दक्षिणकाली नगरपालिकाले आर्थिक वर्ष २०७९ ८० मा ६५ प्रतिशत अंक पाएको छ । गत वर्ष यो नगरपालिकाले जम्मा ५१ प्रतिशत मात्रै अंक पाएको थियो । तुलनात्मकरुपमा यो नगरपालिकाले यो वर्ष १४ प्रतिशत प्रगति गरेको देखिन्छ ।

वार्षिक प्रगतिका आधारमा काठमाडौंका पालिकाहरुमध्ये तेस्रोस्थानमा पर्छ, दक्षिणकाली नगरपालिका ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top